नेपालै नरहे कविताको मूल भाव

नेपालै नरहे कविता नेपालका प्राकृतिक सम्पदा, सांस्कृतिक–भौगोलिक विविधता र गौरवशाली ऐतिहासिक पृष्ठभूमिको महिमा गाइएको देशभक्त गीति कविता हो । राष्ट्रकवि माधव घिमिरे स्वच्छन्दतावादी कवि हुन् जसका कवितामा प्रकृतिप्रेम र देशभक्तिको गीत गाइएका हुन्छन् । भौगोलिक, सांस्कृतिक, प्राकृतिक विविधता र ऐतिहासिक गौरवको पहिचान नेपालको मौलिक परिचय भएको बताउँदै यसमा नेपाली भूगोल–सम्पदा र वीरताको इतिहास नरहे नेपाल र देशभक्त नेपाली नागरिकहरूको इज्जत प्रतिष्ठा र गौरवको उचाइ बढ्न नसक्ने विचार व्यक्त गरिएको छ ।

सुनौला धानका बाला झुल्ने उर्वर भूमि तराई र विदेशी मुद्रा आर्जन गर्ने रोजगारीको मुख्य स्रोत हिमाललाई कविले सुन र हीराको उपमा दिएका छन् । वास्तवमा सुन झैँ पहेँला धानका बाला झुल्ने तराई र हीरा झैँ टल्कने सुन्दर हिमाली शृङ्खलाहरू नेपाली अर्थतन्त्रका मेरुदण्ड हुन् । उर्वर माटो र जलको अखण्ड भण्डार नेपाली धर्तीका पौरखी छोराहरूको सम्पत्ति मानिन्छ । हिमाल, पहाड र तराईमा विभक्त विविधतायुक्त भूगोल, हावापानी तथा संस्कार–संस्कृति र वीरताको गौरवमय इतिहासले सुशोभित नेपाल सर्वगुण सम्पन्न सानो संसार नै हो । यहाँको प्राकृतिक विविधता, सांस्कृतिक संस्कार, भूबनोटको वैचित्र्य बाह्य संसारको रहनसहन र संस्कृतिको पहिचान गर्न मद्दत गर्ने आधार हुन् । यिनै सम्पदाका कारण नेपालको पहिचान सर्वव्यापी भएको छ तथा हामीले आफूलाई नेपाली भनेर संसारमा चिनाउन पाएका छौँ । तर नेपालको पहिचान र अस्तित्व कायम राख्न नसक्दा नेपालीहरूको पहिचान र अस्तित्वसमेत गुम्न सक्छ भन्ने कविको धारणा छ ।

दसैँ र तिहार नेपालमा परम्परादेखि चली आएका रमाइला सांस्कृतिक पर्वहरू हुन् । चुड्का ख्याली र मादलको मौलिक तालले हाम्रा यस्ता चाडपर्वहरू अझ रमणीय बनेका छन् । यिनै मौलिक सांस्कृतिक चाडपर्व र बाजागाजाहरूले गर्दा परम्परागत लोकसंस्कार र संस्कृतिमा विश्वविजयी महसुस गरी हाम्रो हृदय गौरवान्वित भएको छ । यस्ता मौलिक बाजाको अभावमा हामी बैँसको तालमा खुसीसाथ नाच्न र नेपालै नरहे नेपाली भएर बाँच्न सक्ने थिएनौँ भन्ने कविको ठम्याइ छ । यस्ता सांस्कृतिक धरोहरहरूको जगेर्ना गर्नुपर्छ भन्ने भाव कवितामा प्रकट भएको देखिन्छ । नेपालको ख्याति बढाउन आकाश छुने उद्देश्य बोकेर ठडिएझैँ भान हुने विश्वको सर्वोच्च शिखर सगरमाथाजस्ता टाकुराहरू नेपालमा छन् । स्वतन्त्र र स्वाधीन नेपाल राष्ट्र बनाउने र यसको चौतर्फी सीमा विस्तार गरी विशालता प्रदान गर्ने क्रममा हाम्रा वीरपुर्खाहरूले टेकेको पाइलाको गौरवशाली इतिहास पनि मेटेर मेट्नै नसकिने छ ।

नेपालीको वीरता, साहस, संस्कार र संस्कृतिको इतिहास मेट्नै नसकिने स्वर्ण अक्षरमा अङ्कित भएकाले विश्वमा नेपालीहरूको इज्जत र प्रतिष्ठाले शिर उचो भएको छ । विश्वमा भौतिक र आध्यात्मिक ज्ञानको उज्यालो प्रकाश छर्ने पूर्वीय सभ्यताको केन्द्रभूमिका रूपमा नेपाललाई प्रस्तुत गर्दै कवितामा पूर्वीय दर्शन र सभ्यताले नै विश्वमा भौतिक–आध्यात्मिक जागरण आएको विचार व्यक्त गरिएको छ । त्यसैले पूर्वीय तथा नेपालीहरूको देन नभएको भए विश्वमा ज्ञान र सभ्यताको उज्यालो बिहानी आउन नसक्ने ठोकुवा गर्दै कविले विश्वलाई व्युँझाउने नेपालीहरूलाई गौरवका साथ बाँच्ने हिम्मत प्रदान गरेकाले यसको रक्षा र समुन्नतिमा लाग्नुपर्ने धारणा राखेका छन् ।

गीति लयमा लेखिएको सुमधुर यस कवितामा नेपालका परम्परागत संस्कारहरू, प्राकृतिक स्रोतसाधनहरू पूर्वजहरूको वीरता र साहसको इतिहास  आदि हाम्रा चिनारी हुन् भन्ने भाव व्यक्त भएको छ । कवितामा प्राकृतिक सांस्कृतिक ऐतिहासिक सम्पदाको गौरवले नेपाल र नेपालीहरूको शान बढेकाले नेपालको अस्तित्व र पहिचानलाई विश्वविख्यात तुल्याउने त्यस्ता सम्पदाको संरक्षण गर्नु नेपालीहरूको कर्तव्य हो भन्ने आशय प्रकट भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *